प्राविधिक शिक्षाको आवश्यक्ता

379776_144386465666057_100002841120081_170869_1372521088_n

– नोर्की शेर्पा

विश्वको विकासन्मुख राष्ट्रहरु मध्येको एक नेपाल आर्थिक, शैक्षिक, राजनीतिक, विकास लगायत हरेक क्षेत्रमा पछि परेको छ । यस मुलुकको शैक्षिक स्थितिलाई लेखाजोखा गर्दा अन्य राष्ट्रको दाँजोमा अत्यन्तै दयनीय अवस्थामा रहेको छ । अझै सम्म पनि कैयौ बालबालिकाहरु शिक्षाको उज्यालो ज्योतीबाट बन्चित हुन बाध्य छन् । अवसर पाएकाहरुले पनि विद्यालयबाट होस् वा महाविद्यालयबाट होस् प्राविधिक ज्ञानको सट्टा सैद्धान्तिक ज्ञान मात्र प्राप्त गर्दछन् ।
यसको कारण उनीहरु आफ्नो कार्य क्षेत्रमा प्रवेश गर्दा ठूलो चुनौतीको सामना गर्नुपरेको छ । यसरी नेपालमा प्राविधिक शिक्षाको अभावबाट ठूलो बेरोजगारी समस्या विद्यमान हुन पुगेको छ ।

आज विश्व विज्ञान र प्रविधिको क्षेत्रमा चमत्कारी तवरले अघि बढिरहेको छ । केही शताब्दी पहिले मानिसले कल्पना सम्म पनि गर्न नसकेको कुरा आज संभव भईरहेको छ । मानव निर्मित हवाइजहाजहरु चरा उड्ने आकाशमा उडेका छन् । यति मात्र नभएर विभिन्न क्षेत्रमा यस्ता थुप्रै नयाँ आविष्कारहरु भएका छन् जसले गर्दा विश्व जगत्लाई नै नयाँ युगमा प्रवेश गराइदिएको छ । यो सबै प्राविधिक शिक्षाको कारणले नै संभव भएको हो ।

विश्वले एक्काइसौं शताब्दीमा फड्को मारिरहेको वर्तमान अवस्थामा हाम्रो राष्ट्रमा पनि विद्यार्थीहरुको चासो प्राविधिक शिक्षा प्रति बढ्न गइरहेको छ । प्राविधिक शिक्षा प्राप्त गरेका विद्यार्थीहरु कामको लागि तड्पिनु नपर्ने अथवा काम नपाए पनि आफै स्वरोजगार सृजना गर्न सक्ने भएकाले यस प्रति विद्यार्थीहरुको आकर्षण बढ्नु स्वभाविक देखिन्छ । साथै कृषि, जलस्रोत, यातायात, चिकित्सा, संचार आदि हरेक क्षेत्रमा प्राविधिक कार्यहरु आवश्यक पर्ने भएकोले पनि यसको क्षेत्र व्यापक हुन पुगेको हो ।

विद्यार्थीहरुको प्राविधिक शिक्षा प्रति यतिको चासोको विषय भएका विद्यालयहरु पनि अधिकांश विद्यार्थीहरुको पहूँच भन्दा बाहिर छन् । यसका लागि सरकारी क्षेत्रबाट कुनै चासो लिइएको छैन । हाम्रो राष्ट्रको अत्यन्तै कमजोर शिक्षा नीतिको कारण विद्यार्थीहरुलाई कसैको जीवनी, कथा, लेख जस्ता कुराहरुमा रटाएर परीक्षा उत्तिर्ण गराइ प्रमाण पत्र थमाउने कार्य भएको छ तर व्यवहारिक ज्ञानको मूल्यांकन नै छैन । उही पुरानो ढाँचाको पाठ्यक्रम र परम्परावादी शिक्षा नीतिमा आधारित नेपालको शिक्षा प्रणालीले गर्दा आफ्नो कार्य क्षेत्रमा प्रतिस्पर्धा गर्न नसकी बेरोजगारीको समस्या बढाएको छ । यसको कारण लाखौं युवाहरु विदेशिने प्रवृत्तिको विकास भएको छ । यसलाई हेर्दा नेपालमा प्राविधिक शिक्षाको आवश्यक्ता र महत्व कति रहेको छ भन्ने कुरा स्पष्ट हुन्छ ।

प्राविधिक शिक्षाविना समग्रमा राज्यको नै प्रगति संभव नभएकोले यसको अभावलाई पूरा गर्न सरकारी तवरबाट विशेष योजना र नीतिहरु तर्जुमा गरी कडा रुपमा कार्यान्वयन तर्फ उन्मुख हुनुपर्ने देखिन्छ । नीजि क्षेत्रमा समेत यसको पहल तथा प्रोत्साहित गरी वर्तमान अवस्थामा विद्यार्थीहरुको प्राविधिक शिक्षा प्रतिको बढ्दो मागलाई सहि सदुपयोग हुनु पर्दछ । लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थाले शिक्षा क्षेत्रमा आमूल परिवर्तन गरी अनिवार्य वैज्ञानिक र स्वरोजगारमूलक शिक्षाको अवधारणा ल्याउनु गर्ने अनिवार्यता छ । यसरी अबका दिनहरुमा ‘प्राविधिक शिक्षा आजको आवश्यक्ता’ भन्ने मूल नाराका साथ अघि बढ्न सकियो भने राज्यमा वेरोजगारीको समस्या हटेर जान्छ र राष्ट्रको चौतर्फी विकासमा टेवा पुग्ने देखिन्छ ।

Share
You can leave a response, or trackback from your own site.

Leave a Reply