दोलखा, चैत्र ४ – विद्यालय बनाउन बालुवा बोक्न खटाइएका विद्यार्थी खोलानजिक खेलेर बसेको झोकमा प्रधानाध्यापकले आँखाको डिलमा चोट लाग्नेगरी कुटपीट गरेका छन् । सुनखानी गाविसस्थित ताम्रकोशीका निमाविका प्रअ भरतसिंह शिवाकोटीले भारी बोक्ने नाम्लोको डोरीले कुटेको मध्य सुस्मिता शिवाकोटीको दाहिने आँखाको डिलमा चोट लागेको छ । नाम्लोको डोरीले हिर्काएपछि अर्धमुर्छित १३ वर्षीया सुस्मितालाई पुनः बालुवा बोक्न लगाइ यातना दिइएको उनीका बुबा ध्रुव शिवाकोटीले बताए ।
विद्यालयमा सिमेन्ट लगाउने कार्यमा एक घण्टा लाग्ने तामाकोसीबाट झन्डै ८० जना विद्यार्थीलाई केही दिनदेखि विद्यालयले बालुवा बोकउदै आएको थियो । आठ देखि १५ बर्ष उमेरका विद्यार्थीलाई करिब १५ किलोको बालुवा भरेको बोरा पटकपटक बोक्ने लगाएको आरोप अभिभावकको छ । वालवच्चालाई कुनै पनि श्रममा संलग्न गराउन नपाउने व्यवस्था छ । कुटपीटसमेत गरिने कार्य झनै गम्भीर भएको जिल्ला शिक्षा अधिकारी गेहनाथ गौतमले बताए । ‘विद्यालय आउने बच्चालाई शाररीक यातना दिने प्रअलाई कार्वाही हुन्छ,’ गौतमले भने ।
विहिवार एकखेप बालुवा बोकेपछि दोस्रो खेपमा पानी तिर्खा लागेर खोला किनारमा गएको देख्नेवित्तिकै प्रअ शिवाकोटीले बोलाएर नाम्लोले हिर्काएका थिए । ‘मलाई तीन नाम्ला हिर्काए, आखाँ मुनी घाउ भएपछि मात्र छाडे,’ सुस्मिताले भनिन् । प्रअले अध्ययनरत कोपिला शिवाकोटी, सन्जु श्रेष्ठ, अस्मिता शिवाकोटी, सोना शिवाकोटी, श्रीजना माझी, पि्रयाङ्का शिवाकोटीलाई पनि नाम्लोले कुटेको सुस्मिताले भनिन् । सात कक्षामा अध्ययनरत १३ वर्षीया उनीले भनिन्, ‘अरुलाई पनि नाम्लाको डाम बसेको छ ।’
‘कुटपीटबाट छोरी घाइते भएपछि मैले श्रीमतीलाई हेडसर भेट्न पठाए,’ बुबा ध्रुवले भने । बच्चाहरु खोला तर्न खोजेको, पारीपट्टी मुला चोर्न गएको हुँदा हिर्काइदिए भन्ने जवाफ श्रीमतीलाई दिएर पठाएको ध्रवले कान्तिपुसँग भने । प्रअले यसअघि पनि एक जना बादीको छोरालाई वेहोस हुने गरी कुटेको र अर्को एक छात्रालाई पनि कानमा चोट पर्ने गरी कुटेको आरोप ध्रुवको छ । रामबहादुर बादीको छोरालाई कुटपीट गरेको विषयमा प्रहरीमा आएको मुद्दा मिलापत्र भएको थियो । ‘पटकपटक यातना दिने प्रअ विरुद्ध प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयमा उजुरीसमेत दिएको छु,’ उनले भने ।
source-ekantipur.com

Posted in 












